जनकपुर: जानकी मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने तयारी - Hamro Janakpur

सुमित मिश्र/जनकपुरधाम । धनुषा जिल्लाको रमदैयास्थित रहेको जानकी मेडिकल कलेजमा दुईसय शैय्याको अस्पताललाई तत्काल कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउन तयारी थालिएको छ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट सहित बढ्दो संक्रमणको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरुबिच भएको छलफलमा मेडिकल कलेजमा रहेको दुईसय शैय्यालाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा प्रयोग गरि सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

उक्त छलफलमा अस्पतालमा थप सेवा सुविधाका लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ् । महामारी थप व्यापक भई सो अस्पतालले नपुग्ने अवस्था आएमा निजी अस्पताल संघ धनुषाको सहाकार्यमा कुनैपनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

बैठकले जिल्लामा विगतमा सञ्चालनमा रहेका सबै आइसोलेसन सेन्टरहरु प्रदेश सरकार र स्थानीय तहहरुके समन्वयमा पुनः सञ्चालन गर्ने, स्थानीय तहहरुले कोभिड–१९ को प्रथा चरणको अवधिमा जस्तै क्वारेन्टिन, आइसोलेसल, स्वाब संकलन र परिक्षण, आइसोलेसनमा बसेका व्यक्तिको अनुगमन, एम्बुलेन्स र शव वाहन एवं शवदाह स्थलको व्यवस्थापन, औषधी उपचारलगायतका कार्यमा विद्यमान श्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा प्रभावकारिता हासिल गर्न पूर्ण सक्रियताका साथ क्रियाशिल हुन अनुरोध समेत गरिएको छ ।

विवाह, व्रतबन्ध, भोज, पार्टी आदि सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरुमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढि नहुनेगरी मात्र समावेश हुन आग्रह गरिएको छ । यस निर्णको उल्लंघन गर्ने व्यक्ति अथवा समूहलाई कडा कारवाही गरिन चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।