प्रदेश २ : पर्सामा १६ गते  बिहीबारदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी - Hamro Janakpur

पर्सामा वैशाख १६ गते  बिहीबारदेखि लागु हुने गरी एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए ।

यसैगरी सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ । यसैगरी कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।