बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ - हाम्रो जनकपुर

रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो ।

उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ । युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।
जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ । जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो ।

आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ । छोरी खाना खाने र धेरै बोल्न सक्ने अवस्थामा नरहेको आमाले जानकारी दिइन्।
source:- ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय