धनुषा: बटेश्वर गाउँपालिकामा भ्रष्टाचार घटना छिनोफानो हुन नपाउँदै , अर्को घुस काण्डको खुलासा - Hamro Janakpur

जनकपुरधाम :- धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतले ५ लाख रुपैँया घुस लिएको घटना छिनोफानो हुन नपाउँदै बटेश्वरमा अर्को घुस काण्डको खुलासा भएको छ ।

लेखा परिक्षण गराउँदा आर्थिक अपचलनलाई लुकाउन बटेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रनरायण यादवले ठूलो घुस रकम दिएको खुलेको हो ।

वर्षभरि कमिसन लेनदेनगरि गरेको करोडौँ भ्रष्टाचार ढाकछोप गर्न बटेश्वर गाउँपालिकाका नमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र नरायण यादव, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले घुस दिई सेटिङ मिलाएका हुन् ।

नेपालवाच डटकमका अनुसार गत फागुनमा महालेखाका उपसचिव वैभवद्धीप श्रेष्ठ नेतृत्वमा ६ जना कर्मचारीको टोली धनुषाको बटेश्वर गाउँपालिकामा आएका थिए । त्यसै क्रममा स्थानीय तहको खर्च अनुशासन जाँच गर्न गएको त्यो टोलीले लेखापरीक्षणका क्रममा बटेश्वर गाउँपालिकाको कार्यालयसँग बार्गेनिङ गरेर घुस लिएर फर्किएको खुलेको हो ।

बटेश्वर गाउँपालिकाबाट महालेखा टोलीले कम्तिमा ५ लाख घुस लिएर लेखापरीक्षण रिपोर्टमा बेरुजु र आर्थिक अपचलनलाई लुकाउने प्रस्ताव राखेको थियो ।

उक्त घुस बार्गेनिङमा महालेखाकातर्फबाट लेखापरीक्षण अधिकारी प्रयास घिमिरेले नेतृत्व गरेका थिए । तर गाउँपालिकाका प्रशासकीय अधिकृत रुद्रनारायण यादवले ५ लाख दिन नसक्ने अडान राखे ।

महालेखाको टोली लेखापरीक्षण सकेर काठमाडौँ फर्कियो तर प्रतिवेदन दिइएन । घिमिरेले आफ्नो मागदावी अनुसार घुस नपाउँदासम्म प्रतिवेदन नदिने अडान दोहोर्याइरहे ।

अन्ततः २ लाख घुस लिएर हिसाब मिलान गरेको गाउँपालिकाका लेखा प्रमुख सुमन पुरीले बताएको नेपालवाच डटकमले उल्लेख गरेको छ । पुरैले हाँस्दै भनेका छन् ‘अन्तिममा दुई लाखमा कुरा मिल्यो, त्यसपछि प्रतिवेदन पनि पाइसक्यौँ ।’

अधिकृत यादव यसअघि समेत पटक पटक भ्रष्टाचारमा मुछिएका थिए ।

वैभवद्धीप श्रेष्ठ नेतृत्वको महालेखाका कर्मचारीहरुले धनुषामा अन्य स्थानीय तहबाट पनि यसैगरी घुस संकलन गरेका छन् ।
यो टोलीले जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाबाट गैरकानूनी रुपमा ६ लाख घुस रकम संकलन गरेको थियो ।

लेखा अधिकृत प्रकाश कर्णका अनुसार लेखापरीक्षणमा प्रयास घिमिरेको सक्रियता बढी थियो । तर कर्णले घुस अंक लेनदेनका बारेमा भने थप बताउन चाहेनन् ।

सो टोलीले मिथिला नगरपालिकासँग आर्थिक अपचलनका फाइलहरु मिलाउन ५ लाख रुपैयाँ माग गरेको थियो । तर अन्तिममा ३ लाख रुपैयाँमा सहमति भएको र लेखापरीक्षणकै क्रममा ३ लाख रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।

‘भनेको पैसा नदिंदा फछ्यौट नै गर्न नसक्ने गरी बेरुजु र असुली लेख्ने स्थिति आयो, ती कर्मचारीले भने, भोलि अख्तियारमा बयानमा धाउनुभन्दा तीन लाख दिंदा ढुक्क हुने भएकाले घुस बुझाऔँ ।’ नेपालवाचको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..