जानकी मेडिकल कलेज कर्मचारीको तलब भत्ता अझै दिएनन् , पुर्ण आमरण अनशनमा - Hamro Janakpur

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीले फेरि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

कलेज प्रशासनले आन्दोलनकारी कर्मचारीसँग गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै उनीहर फेरि अनशनको तयारी थालेका हुन् ।

आन्दोलनको सुरु भएको एक वर्ष पुग्दा समेत आफुहरुको माग पुरा नभएको र विगतमा जिल्ला प्रशासन, प्रहरी लगायतका सरोकारवाला निकायसमक्ष गरेको सहमती कार्यन्वयन नगरेपछि फेरि अनशनमा बस्नुपर्ने बाध्यता भएको कर्मचारी हकहित संरक्षण मञ्चका सह संयोजक जानकी शरण यादवले बताए ।

कलेजले माग पुरा नगरेपछि गत वर्ष कात्तिक महिनामा समेत कर्मचारीद्धय कुल्दिप साह र जानकी शरण यादव आमरण अनशनमा बसेका थिए । तर २८ औँ दिनमा तीन बुँदे सहमति पश्चात उनीहरुले अनशन तोडेका थिए ।

तर अनशन तोडेपछि ती मागहरु कार्यन्वयन नभएको यादवको भनाई छ । मेडिकल कलेजका कर्मचारी २०७५ सालदेखि नै निरन्तर आन्दोलन गरिरहेका छन् ।

२०७५ फागुनमा कलेजको नियमावलीअनुसार वृद्धि भएको २५ प्रतिशत बढोत्तरीसहित तलब, हरहिसाब पारदर्शी, आठ महिनासम्मको बाँकी वक्यौता तलब भुक्तानी, आठ वर्षको सञ्चय कोष तथा दसैँभत्ता माग्दै कर्मचारी आन्दोलित भएका थिए ।

कलेजले श्रमशोषण गरेको भन्दै उनीहरूले हातमा कालो पट्टी बाँधेर माग पूरा नभए अस्पतालको अत्यावश्यक सेवाका साथै कलेजको प्रशासन शाखामै तालाबन्दी गर्ने चेतावनी दिए ।

कलेजले आन्दोलन स्थगित गर्न आग्रह गर्दै वार्ताका लागि कर्मचारीलाई आह्वान गर्‍यो । १४ फागुनमा कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेय र कर्मचारी हकहित संरक्षण मञ्चद्धारा गठित वार्ता समितिबीच चारबुँदे सहमति भयो ।

१५ चैत २०७५ सम्म सम्पूर्ण कर्मचारीले व्यक्तिगत हरहिसाब लिन पाउने, चार वर्षको वक्यौता, दसैँ पेश्की तथा दुई महिनादेखि बाँकी रहेको तलबभत्ता कलेजका अध्यक्ष पाण्डेयबाट मिनाहा गरिदिने अनुरोधअनुसार वार्ता समितिले निकास निकाल्ने, २०७४ सालदेखि नियमअनुसार (लागू भएको २५ प्रतिशत) तलब वृद्धि २०७५ फागुनको तलबदेखि समायोजना भइ भुक्तानी गर्ने, २०७४ कात्तिकदेखि २०७५ माघसम्मको २५ प्रतिशत वृद्धि तलबवापतको सम्पूर्ण वक्यौता चैत मसान्तभित्र भुक्तानी गर्ने र कर्मचारी सञ्चय कोषबापतको सम्पूर्ण बाँकी वक्यौता २०७६ जेठ मसान्तभित्र भुक्तानी गरिसक्ने र फागुनदेखि मासिक सञ्चय कोषको रकम दाखिला गर्दै जाने सहमति भएको थियो ।

तर, तोकिएको समयभित्र सहमति कार्यान्वयन नभएपछि कर्मचारी फेरि आन्दोलनको तयारीमा जुटे ।

आन्दोलनको तयारी भएपछि वार्ता समिति र कलेजका अध्यक्ष तथा व्यवस्थापनबीच सहमति कार्यान्वयका लागि ८ जेठ २०७६ जेठमा फेरि पाँच बुँदे अर्को सम्झौता भयो । १४ फागुन २०७५ मा भएको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न १५ असार २०७६ सम्म म्याद थप गरियो ।

यस्तै, २०७५ चैत र २०७६ वैशाखको तलबभत्ता तथा सञ्चय कोषसहित जेठ १८ गतेभित्र भुक्तानी भइसक्ने र त्यसपछिका महिनामा समायोजन गरिएको नयाँ तलबभत्ता र सञ्चय कोष नियमित रूपमा भुक्तानी गर्दै जानेसमेत सम्झौता भयो ।

तर, सहमति कार्यान्वयन हुन नसकेपछि कलेज र वार्ता समितिबीच पटक(पटक गरी सहमति कार्यान्वयनका लागि २०७६ भदौ मसान्तसम्म म्याद थप गरियो ।

सो सहमति कार्यान्वयन नभएपछि कर्मचारी हकहित संरक्षण संघर्ष समितिले २० माघ २०७६ मा विगतमा भएको मौखिक तथा लिखित सम्झौता कार्यान्वयनका लागि कलेजलाई ध्यानाकर्षण पत्र लेख्यो ।

तर, ती सहमति कार्यान्वयनका लागि कलेज प्रशासन तथा व्यवस्थापकले चासो देखाएनन् । त्यसपछि बाध्य भएर कलेजका कर्मचारी अनशनमा बसेका थिए । तर ती मागहरु पुरा गर्नुको साटो उल्टै कलेज प्रशासनले कर्मचारीले कर्मचारीलाई धमाधमक कारबाही गरि निकाल्न थालेपछि उनीहरु झन आक्रोशित हुँदै गएका छन् ।

आन्दोलनरत कर्मचारीका अनुसार हकहितका लागि आवाज उठाउने दर्जनौ कर्मचारीलाई कलेजले स्पष्टिकरण सोध्ने नाउमा निकालिसकेका छन् । त्यस विरुद्ध आफुहरु संघर्ष जारी राख्ने कारबाहीमा परेका कर्मचारी उमेश यादवले बताए ।

‘हामी नियम, कानुन र विधिको परिधिभित्र रहेर जायज माग उठाएका छौँ । पुरा नहुन्जेल आन्दोलन जारी रहनेछ,’ उनले भने, ‘कलेजको पठन पाठन नै बन्द गर्नुपर्ने स्थिती ल्याउन कलेजले हामीलाई बाध्य बनाउँदै छ ।’

कर्मचारीले नियम कानुनम मिच्दै कलेजको बदनामी गर्न लागेपछि कलेजले कारबाही गरेको प्रशासन प्रमुख दयानन्द झाले बताए ।

‘खाने थालमै किचड उछाल्न थालेपछि कारबाही गर्दैन । कोरोना महामारी, लकडाउनले कलेजको आर्थिक मात्र होइन सबै हिसाबले खराब स्थितीमा पुगेको छ । त्यसैले हामी उनीहरुको तलब, भत्ता दिन सकेका छैनौ,’ उनले भने । आन्दोलन अन्त्य गर्न आफुहरु फेरि कर्मचारीसँग छलफल थाल्ने झाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×