काठमाडौं । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो ऋण पाउने भएका छन् । बैंक र सशस्त्र प्रहरीबीच बिहिबार एक सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा सो बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले बिनाधितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

उक्त कार्यक्रममा महानिरीक्षक केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत् राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए ।

त्यस्तै बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्दै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय