प्रदेश २ का सञ्चारमन्त्री साहको आपत्ति, मुख्यमन्त्री राउतलाई बुझाइए ज्ञापन पत्र - Hamro Janakpur

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाइएको छ ।

मन्त्री साहले केही दिनअघि एक कार्यक्रममा मैथिली खास जातिको भाषामात्र रहेको बताएका थिए । उनको सोही अभिव्यक्तिको विरोध जनाउँदै जनकपुरका आधा दर्जन संघ संगठनहरूले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

केही दिनअघि मन्त्री साहले प्रदेश २ मा सबैभन्दा बढी मगही भाषा बोलिने गरेको दाबी गर्दै प्रदेशका ब्राह्मण र कायस्थ समुदायका २ प्रतिशत व्यक्तिले मात्र मैथिली बोल्ने गरेको बताएका थिए ।

मन्त्री साहको अभिव्यक्तिलाई भर्त्सना गर्दै मैथिली अनुयायी संघसंस्थाहरूले उनले बोलेका तथ्य प्रमाणित गर्न चुनौती दिएका छन् । अभिव्यक्तिलाई प्रमाणित गर्न नसके मन्त्री साहले माफी माग्नुपर्ने उनीहरूले माग गरेका छन् ।

देशभर दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाबारे तथ्यको जानकारी नै नलिई मन्त्री साहले विवादित अभिव्यक्ति दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । मुख्यमन्त्री राउतलाई बुझाइएको ज्ञापन पत्रमा जनगणनाको आधिकारिक दस्तावेजलाई नजरअन्दाज गर्दै मन्त्री साहले मैथिली भाषाप्रति तथ्यहीन, कपोलकल्पित तथा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै मैथिली भाषीसँग माफी माग्न माग समेत गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मन्त्री साहले मैथिली भाषाबारे दिएको अभिव्यक्ति उनको निजी धारणा हुनसक्ने बताए । उनले भने, ‘मैथिलीबारे उनको अभिव्यक्ति निजी हुनसक्छ । उनको त्यो अभिव्यक्ति सरकारको होइन ।

राउतले प्रदेशको कामकाजी भाषा निर्धारण गर्न ढिलाई भइरहेको स्वीकार्दै त्यसबारे अब चाँडै निर्णय हुने बताए । उनले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि समेत चाँडै प्रक्रिया अगाडि बढाउने आश्वासन दिए ।

स्थानीय गणेश युवा कमिटीका अध्यक्ष सन्तोषकुमार महतो, राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साह, मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झा, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला राज्य संघर्ष समितिका सदस्य श्यामसुन्दर शशि, प्रज्ञा परिषद पूर्वसदस्य रमेश रञ्जन झा, मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनिल मल्लिक, महासचिव शैलेन्द्र मल्लिकलगायतका व्यक्तिहरूले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×