महामारीलाई नजरअन्दाज नगरौं - Hamro Janakpur

जनकपुरधाम । सरकारले देशभर कुनै न कुनै उपायका निषेधाज्ञा लागू गरी सामूहिक बसाइ र भेटघाटका कार्यक्रम नगर्न निर्देशन जारी गरिरहेकै बेला हुलका हुल विद्यार्थी परीक्षा केन्द्रमा परीक्षा दिन गइरहेका छन् ।

पहिले खोप अनि परीक्षा भनी माग राखेका विद्यार्थीहरू परीक्षा हलमा बस्न बाध्य भएका छन् । तर, उनीहरू खोपबाट वञ्चित छन् । परीक्षाको यो बाध्यता कति आवश्यक छ, त्यो बहसको विषय बनेको छ ।

तर, परीक्षाले संक्रमणलाई कत्तिको बल पुर्‍याइरहेको छ यो भने निकै सोचनीय बनिरहेको छ । स्वास्थ्य ठूलो कि परीक्षा भन्ने विषय पनि बहसमा आएको छ । विद्यार्थीको पहिला खोप त्यसपछि परीक्षा भन्ने माग अवश्य पनि नाजायज थिएन ।

सरकारले पनि यस विषयमा सोच्नुपर्ने थियो र स्कुल तथा क्याम्पस सञ्चालकहरूले पनि नजरअन्दाज गर्न हुने थिएन । तर, भएरै छाड्यो त्यही र त्यस्तै । परीक्षाका विविध उपाय र विकल्पको खोजी भइरहेका बेला पुरानै विधि र उपायको जबर्जस्त प्रयोग उचित पनि देखिएको छैन । शिक्षाविद्हरू पनि यसमा मन्जुर छैनन् । उनीहरूको भनाइ छ, बाध्यताका नाममा ज्यानै संकटमा पार्नेगरी प्रक्रिया पूरा गर्नु उचित होइन ।

परीक्षापूर्व खोप लगाउनु कोरोना संक्रमण रोकथामको भरपर्दो उपाय पनि हो । कम्तीमा पनि यसले संक्रमण रोकथामका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आत्मविश्वासमा बढोत्तरी ल्याउँछ । रोकथामको एक प्रक्रिया पनि पूरा गर्छ ।

त्यसैले पनि परीक्षा हुनु दुई÷तीन दिनअघि खोप उपलब्ध गराउनुपर्ने माग विद्यार्थीमाझ रहेको थियो । यसले विद्यार्थीमा परीक्षा दिँदै गर्दाको मनोविज्ञानमा केही जटिलता पैदा गरिदिएको छ । त्रिभुव विश्वविद्यालयअन्तर्गत भइरहेका परीक्षामा सहभागी विद्यार्थी यति बेला दुईखाले मनोवैज्ञानिक दबाबमा रहेका छन् ।

एउटा त जाँच पास कसरी गर्ने, अर्को कोरोना संक्रमण भएमा बाँच्ने हो कि मर्ने । यस अतिरिक्त परीक्षा हलमा प्रवेश गरेका विद्यार्थीले मास्क लगाएका त छन् नै । तर, परीक्षा हलमा सेनिटाइजर, तातोपानी र ज्वरो नाप्ने यन्त्र नराखिएकोमा विद्यार्थीले गुनासो गरिरहेका छन् ।

सरकारले ढिलो गरी विद्यार्थीका लागि खोप केन्द्र तोकिदियो । परीक्षाको तयारी गर्नु छ, घण्टौं लाइन लाग्ने समय छैन । परीक्षा केन्द्रहरूमा खोप केन्द्र राखिएको पनि छैन । खोप पनि विश्व विद्यालयस्तरका ६० हजार परीक्षार्थीलाई मात्रै लिन पाउने किटान गरिएको छ ।

परीक्षाको घनचक्करसँगै विद्यार्थीहरू विश्वविद्यालयस्तर र लोकसेवाले सञ्चालन गरेका परीक्षा भौतिक रूपमा हलभित्र उपस्थित भइरहेका छन् । विभिन्न कारणले गर्दा अधिकांश परीक्षार्थी खोपबाट वञ्चित छन् । कुरा परीक्षार्थीको मात्र होइन, आमजनताको पंक्ति खोपको प्रतीक्षामा छ । डेल्टा भेरियन्ट अमेरिकी बालबालिकालाई सताउँदै फैलिइरहेको छ ।

नेपालमा पनि ‘अघोषित’ तेस्रो लहर चलिसकेको अनुमान छ । यसले समाजमा ठूलो हिस्सामा रहेका बालबालिकालाई संक्रमण गर्ने विज्ञको अनुमान छ । हाल नेपालमा संक्रमणको उच्च चरणमा रहेको कोरोना महामारीको प्रकार उही डेल्टा भेरियन्ट नै हो । त्यसैले खोप आमरूपमा विस्तार गर्न र पछिल्लो समयमा बालबालिकाका लागि पनि तयार पारिएको खोपको मात्रा आयात गर्न ढिलाइ गर्नुहुँदैन । महामारी संक्रमणलाई नजरअन्दाज नगरौं ।राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×