काठमाडौं । महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्षपछि भारतले नहर निर्माणमा तीव्रता दिएको छ । महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माणअन्तर्गत महाकाली एकीकृत सन्धिअनुसार भारतले बनाउनुपर्ने १२ सय नहर निर्माणमा भारतले २५ वर्षपछि निर्माण कार्यमा तीव्रता दिएको हो ।

नहर निर्माणमा वर्षाैंदेखि आनाकानी गर्दै आइरहेको भारतले अहिले रातदिन लगाएर भारततर्फ निर्माण गर्नुपर्ने १२ सय नहरको निर्माण कार्यमा तीव्रता दिएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका अनुसार भारततर्फ भारतले सन्धिअनुसार निर्माण गर्नुपर्ने भनिएको मूल नहरको रेगुलेटर लगायतका निर्माण कार्यमा भारतीय पक्षले तीव्रता दिएको छ ।
“टनकपुर ब्यारेजदेखि भारतीय भूमिमा पर्ने मूल नहरको १२ सय मिटर क्षेत्रमा भारतीय पक्षले दु्रतगतिमा निर्माणको कार्य गरिरहेको छ,” महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका निर्देशक रणबहादुर बमले भने, “भारतीय पक्षले नहर निर्माण गर्नका लागि कपरड्याम बनाएर महाकाली नदीको पानीलाई नदीको पश्चिमतिरको किनारबाट बगाएको छ, पानी बगाएपछि भारतीय पक्षले एकदमै तीव्रताका साथ नहर निर्माणको काम अगाडि बढाएको छ ।”
भारतीय पक्षले मुख्यनहरमा फिलिङ गर्ने कामहरू र ड्रेनिज गर्ने कामहरू सम्पन्न गरेको अवस्था छ । विगतदेखि भारतले टनकपुर ब्यारेज क्षेत्रमा महाकाली नदीबाट १ सय बढी मेगावाट बिजुलीसमेत उत्पादन गर्दै आएको छ । यो सँगै भारतीय पक्षले नहर निर्माणको संरचनालाई तीव्रता दिनको विद्युत् उत्पादन गर्ने पावर हाउस पनि बन्द गरेको छ । विद्युत् गृहलाई चाहिने पानी किनार तर्फबाट नदीमै बगाएर नेपालतर्फ आउने नहरको हेड रेगुलेटरलगायत विभिन्न संरचनाको निर्माणको काम अगाडि बढारहेको आयोजना निर्देशक बमले बताए ।
भारतले टनकपुर ब्यारेज (पुल) देखि भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रसम्म निर्माण गर्नुपर्ने नहर निर्माणमा गत वर्षदेखि मात्रै अग्रसरता देखाएको थियो । टनकपुर ब्यारेजदेखि ब्रह्मदेवस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सन्धिअनुसार भारतले मुख्य नहर, हेड रेगुलेटर लगायतका संरचना निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सन् २०१८ मा भारतले १२ सय मिटर नहरलगायत अन्य संरचना बनाउन ठेक्का आह्वान गरे पनि वन क्षेत्रको विषयमा विवाद देखिएपछि रद्द भएको थियो । त्यसयता दोस्रो पटक १२ मिटर नहर निर्माण गर्नका लागि गरेको ठेक्का आह्वानपछि अहिले भारतीय टनकपुर ब्यारेज क्षेत्रमा नहर निर्माण कार्य अगाडि बढेको छ ।
“प्रथम पटकको ठेक्कामा समस्या आएपछि दोस्रो पटक लागेको ठेक्कामा भारतीय पक्षले निर्माणको कार्य अगाडि बढाएको थियो । यसबीचमा कोभिडका कारण रोकिएको मूल नहर निर्माणको निर्माण कार्य आगामी डिसेम्बर महिनासम्म सम्पन्न गर्ने भारतीय पक्षको योजना रहेको छ,” आयोजना निर्देशक बमले भने । निर्देशक बमका अनुसार भारतले सन्धि भएको लामो समयपछि नहर निर्माणमा अग्रसरता देखाएको छ ।
योसँगै नेपालतर्फको जिरो पोइन्टदेखि गहताडी साइपनसम्म निर्माण हुन बाँकी रहेको २२० मिटर नहर निर्माण पनि लगत्तै हुने भएको छ । साइपन अगाडि १२ किलोमिटर क्षेत्रमा नहर निर्माण भएको महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माणको जिरो पोइन्ट क्षेत्रमा निर्माण गर्नुपर्ने नहरको ठेक्का लागेको र एक महिनाभित्रै निर्माणको कार्य अगाडि बढाइने आयोजना कार्यालयले जनाएको छ ।
भारतीय पक्षले डिसेम्वर महिनामा पानी छोड्ने योजना बनाए पनि नेपालतर्फ निर्माण सम्पन्न भएको मूल नहरको १२ किलो मिटर क्षेत्रमा भने खेतमा पानी छोड्नका लागि आवश्यक पूर्वाधार निर्माण भएको अवस्था छैन । पूर्वाधार निर्माणको कार्य थालनी नभएको भए पनि निर्माणको प्रक्रिया भने अगाडि बढाउने योजनामा रहेको आयोजना निर्देशक बमले जनाकारी दिए ।
ब्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको प्रशाखा नहर बनाउनुपर्ने आयोजनाको लक्ष्य छ । १२ किलोमिटर क्षेत्रदेखि २८ किलोमिटर क्षेत्रमा भने ३ वटा प्याकेजमा नहर निर्माणको निर्माण कार्य भैरहेको छ । विगतदेखि नहर क्षेत्रमा जंगल, सामुदायिक वन, ऐलानी जग्गा मुआब्जालगायत बजेट अभावले नहर निर्माणमा ढिलाइ हुँदै आए पनि आयोजना कार्यालयले भने विस्तारै नहर निर्माण गर्दै जाने जनाएको छ । महाकाली सिँचाइ तेस्रो चरणको नहर निर्माण भएपछि कञ्चनपुरको ब्रह्मदेव क्षेत्रदेखि कैलालीको गोदावरी नदीसम्म ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय