प्रदेश २ : ६ महिनापछि प्रदेश सभा बैठक न नाम न राजधानी,सरकारलाई निकम्माको संज्ञा - Hamro Janakpur

जनकपुरधाम । प्रदेश २ मा ६ महिनापछि आज सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रतिपक्षी र सत्ता पक्षका साँसदहरुले अहिले सम्म अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसकिएकोमा सरकारलाई निकम्माको संज्ञा दिएको छ ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले स-शर्त अनुदानको बिषयमा पनि बोलेका छन् । उहाँहरुले चैत महिना बितिसक्दा पनि सशर्त अनुदानको कार्यविधी नबनाएको भन्दै साँसदहरुले यस पटक पनि यो शिर्षकको बजेट फ्रिज गराउने काममा सरकार लागि परेको बताए ।
बैठकमा बोल्दै नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले सरकार गठन भएको साढे तीन वर्ष बित्दा समेत प्रदेशको नाम र स्थायी राजधानी तोक्न नसक्नु सरकारको ठूलो कमजोरी रहेको बताउनुभयो । नेता महतोले सरकारले समन्वयकारी भूमिका देखाउन नसक्दा यो महत्वपूणर् काम हुन नसकेको आरोप लगाउनुभयो ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले स्थायी राजधानी तोक्ने विषयमा सर्वसम्मत निणर्य भएपनि सरकार त्यसबाट पछि हटेको बताउनुभयो । नेता यादवले प्रदेश सरकारले मधेश नाममा सहमति जुटाउन नसक्दा स्थायी राजधानी पनि तोक्न नदिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव ल्याएको बेला सरकारले घनिभूत छलफल नगरेका कारण टुंगोमा पुग्न नसकेको बताउनुभयो ।
कांग्रेसका सांसद शिवचन्द्र चौधरीले अब पनि प्रदेशको नाम र राजधानी नतोकिए ठूलो कलंकको टीका बोक्नुपर्ने बताउनुभयो ।
त्यसैगरी प्रदेशसभाको बैठकमा बोल्दै सत्ता पक्षका सांसद समेतले सरकारले मनोमानी गरिरहेको आरोप लगाए । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र महतोले कोरोनाको बहानामा सरकारले मनोमानी गरेको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारका लागि कोरोना रेडिमेड बहाना हो, जनताका लागि कोरोना अभिशाप भएपनि सरकारका लागि वरदान सावित भयो । किनकि यो बीचमा सरकारले मनमानी गरेको छ ।’
जनता समाजवादी पार्टीकै सांसद डा. रिना यादवले सरकारले रेडबुकको धजिया उडाएको बताउनुभयो ।
सत्ता पक्षका अर्को सांसद सुरिता कुमारी साहले कोरोनाको बहानामा सरकारका मन्त्रीले आफ्नो गोजीको राजनीति गरेको बताइन् । साहले मन्त्रीकै कारण संघीयता धरापमा गएको समेत बताउनुभयो ।
कांग्रेसका सांसद बिरेन्द्र सिंहले यस सरकारले सातै प्रदेशमा सबैभन्दा कम बैठक बसाउने, रेडबुकलाई टोकरीमा फाल्ने गरेको बताउनुभयो।
४ कात्तिकमा चौथो अधिवेसन सम्पन्न भएको घोषणा गरेको प्रदेश सरकारले ६ महिनापछि सोमबार बैठकको आह्वान गरेपनि पुनः दुई सातापछि बैठक आह्वान गरिएको छ । पाँचौ अधिवेसनको अर्को बैठक बैशाख १० गते बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।