शहिद परिवारसंग खेलवाड, मधेश भवनमा विरोध प्रदर्शन .. - Hamro Janakpur

जनकपुरधाम ।जनकपुरधाममा शहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले मधेश भवनमा अगाडि विरोधप्रदर्शन गरेका छन् ।

प्रदेश सरकारले रोजगारी दिने नाउँमा अल्मल्याएको सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष रामनरेश राय यादवको आरोप रहेको छ ।

अध्यक्ष रायले भने, ‘प्रदेश सरकारले ५३ जना सहिद परिवारलाई गत वर्षको जेठ महिनामा नियुक्ति पत्र दिएपनि त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यसँग अन्याय गरेको छ ।’

रायले नियुक्ति पत्र बमोजिम जागिर दिन सरकारसँग पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरुले गत मंसिर २७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयमा १४ बुँदे मागसहित ज्ञापन पत्र समेत बुझाएको बताए । रायले भने, ‘प्रदेश सरकारले योग्यताका आधारमा जागिर दिने वाचा गरेपनि हामीलाई कार्यालय सहयोगीको जागिरका लागि मात्रै नियुक्ति दिएको छ ।’ सरकारले आफ्ना माग पूरा नगरेकोले प्रदेश सरकारविरुद्ध विरोध प्रदर्शन गरेको रायले बताए ।

विरोध प्रदर्शनमा सहभागीहरुले मधेशी शहिद स्मृति प्रतिष्ठान गठन गर, शहिद परिवारहरुलाई योग्यता र क्षमताको आधारमा स्थायी रोजगारीको व्यवस्था गर, मधेश आन्दोलनमा ज्यान गुमाएको तर हालसम्म शहिद घोषणा हुन बाँकी रहेका वीर सपुतलाई अविलम्ब शहिद घोषणा गर, मधेशी शहिद प्रदेश नम्बर २ अक्षयकोषको स्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

प्रदेश सरकारले भौतिक मन्त्रालयमा १५, सामाजिक विकासमा १३, उद्योग, पर्यटन, वन तथा वातावरणमा १४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा १० र मुख्यन्यायधिवक्ता कार्यालयमा १ जनालाई जागिर गर्ने नियुक्ति पत्र दिएको थियो ।

नियुक्ति पत्र पाएकाहरू सबैलाई जागिर, सहिद तथा घाइते परिवारलाई राष्ट्रिय परिचय पत्रको व्यवस्था, तिनीहरूका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था, आवास कार्यक्रम अन्तर्गत सुकुम्बासी सहिद परिवारलाई घरको व्यवस्था र आन्दोलनका क्रममा शीर्ष नेताको ५० लाख रुपैयाँ दिने घोषणा कार्यान्वयन लगायतका १४ बुँदे माग उनीहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।