महोत्तरी । महोत्तरी जिल्लाको बर्दीबास नगरपालिका वडा नम्बर -७, प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेपछि यहाँ पठन पाठन ठप्प भएको छ ।

प्रधानाध्यापक राम सेवक महतो जुलुसमा सहभागिता हुन काठमाडौं पुगेको कार्यालय सहयोगी गंगा तिवारीले बताए। प्रधानाध्यापक महतोले पनि आफु काठमाडौं आएको फोनमा स्वीकारे। तर के कामले काठमाडौं पुगेको जिज्ञासामा उनले केहि बोलेनन् ।

उनीहरू प्रदर्शनमा सहभागी भएको तस्विरहरू सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।
यस्तै शिक्षक राजवीर महतो र गोविन्द साह पनि प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेको बुझिएको छ।

प्रधानाध्यापक महतोसहित तीन शिक्षक दुई दिनदेखि अनुपस्थित भएका कारण पठन पाठन नै ठप्प रहेको विद्यार्थीहरूले बताएका छन् ।

कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द भई अहिले बल्लतल्ल सञ्चालनमा आएपनि शिक्षकहरू चरम लापरबाही गरिरहँदा पनि स्थानीय सरकार मौन बनेको छ। शैक्षिकसत्र सकिन लाग्दा पनि विज्ञान पुस्तकको एउटा पाठ पनि पढाइ नभएको विद्यार्थीहरू बताउँछन्। पटक-पटक प्रधानाध्यापक समक्ष गुनासो गर्दा पनि वास्ता नगरेको उनीहरू बताउँछन्‌ ।

कक्षा १० मा अध्ययनरत छात्रा कविता महतोले शिक्षक अभावमा विज्ञान र लेखा विषयको पढाइ नै नभएको बताइन्। उनले भनिन्, ‘शिक्षक हुँदा पनि पढाइमा ध्यान दिँदैन ।

विद्यालयका शिक्षकहरूले चरम लापरबाही गर्ने गरको स्थानीय पञ्चु साहले बताए। उनले भने, अधिकांश विद्यार्थी विद्यालय छुट्टी हुने समय अगावै घर पुग्छन्, हामीले पटक-पटक पढाइको गुणस्तर सुधार गर्न भनेपनि कसैले सुनेको छैन ।

स्थानीय शिक्षकहरू आफ्नो निजी काममा व्यस्त हुँदा पठन पाठन प्रभावित बनेको स्थानीय हरिदेव महतोले बताए ।

विद्यालयका शिक्षक कमलेश यादवले भने जनशक्ति अभावका कारण विद्यालयमा पठनपाठन प्रभावित भइरहेको दाबी गरे। उनले मावि तहमा शिक्षकको अभाव रहेको र विद्यालय व्यवस्थापन समिति नहुँदा सुधार गर्न समस्या भएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय