पीडित युवती, फोटो
जनकपुरधाम । जनकपुरकाे राजदेवी मन्दिरबाट मेला हेरेर फर्किदै गरेकी २० वर्षीया एक युवतीको सामूहिक बलात्कार भएको छ।
दशैंको अष्टमीका दिन दिदीसँग राजदेवी मन्दिरमा मेला हेर्न गएकी उनलाई घर फर्किने क्रममा १२ विगहा (रंगभूमी) मैदानबाट दुई जना युवाले मोटरसाइकलमा उठाएर लगेका थिए।
करिब १० बजे राति उनलाई १२ विगहाबाट लगी जनकपुरधाम उपमहानगरपालिका १३ पिराडीस्थित पश्चिमवारी टोलको एक फुलवारीमा बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
‘मेला हेरेर घर फर्किने क्रममा १२ विगहाको शंकट मोचन मन्दिर नजिकबाट दुई जना युवाले मोटरसाइकलमा जर्बजस्ती लगे,’ पीडित युवतीले हुलाकी न्यूजसँग भनिन्, ‘हात मुख बाँधेर मोटरसाइकलको बिचमा राखे। आँप र बाँसको फुलवारीमा लगेर दुई जनाले पालैपालो बलात्कार गरे।’
पीडितका अनुसार जनकपुरधाम उपमहानगरपालिका १३ कै करिब १९ वर्षीय श्याम र करिब ४० वर्षीय एक जना अपरिचित व्यक्तिले उनलाई लगेका हुन्।
‘फुलवारीमा लगेर अपरिचित व्यक्ति र श्यामले बलात्कार गरे।’ उनले भनिन्,‘फुलवारीमा श्यामले आफ्नै हातले जर्बजस्ती लुगा खोले। त्यो अधवैसे पुरुषले लुगा खोल्न धम्क्याउँदै थिए। त्यसपछि पहिले त्यो अधबैसे पुरुषले र त्यसपछि श्यामले बलात्कार गरे।’
बलात्कारको क्रममा कुटपिट नभएकोले आफूलाई चोटपटक वा घाउ नलागेको पीडितले स्वीकार गरिन्।
उक्त घटनामा धनुषा प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। शनिबार घटना स्थल मुचुल्कासमेत भएको छ।
बलात्कार गर्ने भाई नै
सामूहिक बलात्कारमा संलग्न श्याम पीडित युवतीकी काकाको छोरा हुन्। युवतीको तीन भाई हजुर बुबा मध्ये माइलोको नाती हुन् श्याम।
पीडितकी आमाले हुलाकी न्यूजलाई भनिन्,‘आफ्नै भाईले मेरो छोरीलाई बलात्कार गर्छ भन्ने विश्वास नै लागेको थिएन। त्यो राक्षसले अपराध गरेको रहेछ। हदैसम्मको कारवाही गराउँछु।’
जेठीमा आँखा लगाउँद घटना सार्वजनिक
बलात्कार भएको करिब एक सातासम्म पनि युवतीले बलात्कार बारे परिवारका सदस्यलाई बताएकी थिइनन्।
पिडक श्याम र एक जना स्थानीय युवाले पीडित युवतीकी दिदीसँग यौन सम्पर्क गर्न खोज्दा घटना सार्वजनिक भएको हो।
पीडित युवतीकी छिमेकी एक युवतीले भनिन्,‘श्यामले मेरो घरमा आएर मलाई भनेका थिए कान्छीलाई गरेर भ्याए। अब उसको दिदीलाई भ्याउछु। मिलाई दिए बापत तिमीलाई ५ हजार र त्यसको दिदीलाई ५ हजार दिने श्यामले भनेका थिए।’
छिमेकी युवतीले उक्त कुरा पीडितक युवतीको परिवारलाई भनेपछि घटना सार्वजनिक भएको हो। पीडितकी आमाले कान्छी छोरीलाई घटना बारे सोधेपछि पीडितले परिवारलाई जानकारी गराइन्। त्यसपछि प्रहरीमा जाहेरी दिइएको पीडितकी आमाले बताइन्।
दुई परिवारबीच पुरानो जग्गा विवाद
पीडित युवती र पिडक युवा श्यामको परिवारबीच जग्गा विवाद हुँदै आएको छ। हजुर बुवाको मोहियानी जग्गाको विवादमा दुई परिवारबीच बोलचाल दिएन।
अदालती प्रक्रियाबाट जग्गा विवाद मिलाइए पनि पीडित युवतीका परिवारले आफूहरुलाई ठगिएको आरोप लगाउँदै आएका छन्। श्यामका परिवारजनले भने आफूहरुको जग्गा विवादका कारण छोरालाई फसाउन खोजिएको बताएका छन्।
पीडित र पिडक दुबै दलित परिवारका हुन्।
याे समाचार हुलाकी न्युजमा बीपी साह लेखिएको छ
प्रतिक्रिया दिनुहोस् !