रौतहट । मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै बिहीबार काम रोकेका हुन् ।

रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआवजा नदिएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ का किसानहरुले रेल्वेको काम रोकेका छन् ।

जग्गाधनीले मुआब्जाको रकम पाएका छैनन् । तर ठेकेदारले धमाधम काम सुरु गरेपछि किसानहरु आक्रोशित छन् ।

एक महिनाअघि नै मालपोतलबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेको छ ।

तर हातमा एक पैसा पनि नपरेको किसान कृष्ण चौधरीले बताए ।रेल्वेको नाममा पास भइसकेको लालपूर्जा बोकेर खेतमै उनीहरुले काम अवरोध गरेका थिए ।

‘जग्गा पास भएकै दिन मुआब्जाको रकम पाइन्छ भन्यो । तर अहिलेसम्म हातमा एक पैसा परेको छैन,’ उनले भने,‘खेतमा धमाधम काम भइरहेको रहेछ । अब पैसा नपाएसम्म कामै हुन दिन्न ।’

उनको ८ कठ्ठा जग्गा रेल्वेमा परेको छ । समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए ।

अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ । त्यहाँ कुनै अप्रिय घटना हुन नदिन ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बिहानदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकारेका छन् । ‘किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो ।

अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,’ उनले भने,‘अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छौं ।

उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे ।

उक्त प्याकेज लामा गोल्डेन बिरुवा जेभीले ठेक्का सकार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय