सप्तरी । सप्तरी जिल्ला अदालतले बलात्कार गरेको आराेपमा पक्राउ परेका एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ बर्ष कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शुक्रवार आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका आरोपितले नास्ता र नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित वैष्णव काली मन्दिर नजिकको कल्टु दासको पोखरी किनारमा लगेर बलात्कार गरेको थियो ।

आरोपितले सोही राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि अर्धचेत अवस्थामा बालिकालाई घर अगाडि फेला पारेको भन्दै पीडितकी आमाले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ भदौ १३ गते उजुरी दिएकी थिइन् । विक्षिप्तावस्थामा रहेकी बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मनोविमर्श एवं स्वास्थ्य उपचार भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७६ भदौ १३ गते दिउँसो पक्राउ गरेपछि पीडितले पहिचान गरेकी थिइन् ।

अदालतको ०७६ असोज ५ गतेको आदेशअनुसार आरोपित निराले अहिले राजविराजस्थित कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय