अरू महिलासँग सम्बन्ध राखेको’ थाहा भएपछि - Hamro Janakpur

काठमाडौ । कैलालीमा प्रहरीले हत्यामा संलग्न आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

गोदावरी नगरपालिका वडा नम्बर ५ गेटीस्थित गेटा आँखा अस्पताल नजिक बस्ने ३५ वर्षीय छोटु भन्ने शिवचरण रानाको हत्यामा संलग्न रहेको आरोपमा ३७ वर्षीय जयन्ती चौधरी र अन्य दुई जनालाई पक्राउ गरी प्रहरीले बिहीबार बेलुका सार्वजनिक गरेको हो।

फागुन १५ गते बिहान ४ बजे रानाको शव फेला परेको थियो। उनको टाउकोमा धारिलो वस्तुको प्रहारबाट हत्या गरी गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधीन नालीको खाल्डोमा फालेको अवस्थामा शव फेला परेको थियो।

हत्या गरिएको हुनसक्ने भन्दै घटनाको प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

घटनाको प्रकृति, मृतक तथा आरोपीहरूले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिइबी समेतका तथ्यहरू संकलन तथा विश्लेषण गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

घटनाको मुख्य योजनाकार जयन्ती चौधरी रहेको र निजको निर्देशन तथा संलग्नतामा अन्य दुई जनाले वारदात घटाएको प्रारम्भिक अनुसान्धानबाट देखिन आएको प्रहरीले जनाएको छ।

उनीहरू दुई जनाको विवरण भने खुलाइएको छैन।

अनुसन्धानका क्रममा मृतक राना र अभियुक्त जयन्ती चौधरीको विगत लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच अनैतिक सम्बन्ध हुँदै आएको देखिएको र गाउँ समाजका भद्रभलाद्मी बसी छलफल गरी दुई लाख रुपैयाँ लेनदेन गरी मेलमिलाप भएको पनि खुलेको छ।

केही समय छोटु भन्ने शिवचरण राना र जयन्ती चौधरीबीचमा कुनै सम्बन्ध नभएको र पछि पुनःसम्बन्ध बनाई नजिकिएका थिए।
यस सम्बन्धमा दुबै पक्षबीच कहिलेकाहीँ झगडा हुने, एकले अर्काप्रति शंका राख्ने, एकले अर्कालाई विश्वास गर्छ/गर्दैन भनी परीक्षण गर्ने लगायत आर्थिक लेनदेन गर्ने कार्य समेत भइरहेको खुलेको छ।

उनीहरू दुवै विवाहित हुन्।

मृतक छोटु भन्ने शिवचरण रानाले आफूभन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्ती चौधरी विक्षिप्त भई आफू अपमानित भएको, शिवचरण आफूप्रति इमान्दार नभएको महसुस भएको र बदलाको भावनाबाट शिवचरणलाई मार्नेसम्मको सोच आएको उनले बयान दिएकी छन्।

आरोपी जयन्तीले आफैंले घटना घटाउन प्रयास गरेकोमा काम पूरा हुन नसकेपछि आफ्नो आफन्त नाता पर्ने पुरूष व्यक्तिसँग सम्पर्क गरी योजना बनाएको र रकम समेत दिएको खुल्न आएको छ।

मृतक आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्ती चौधरीले नै घटना संलग्न आफन्त पुरूषलाई जानकारी दिएकी थिइन्।

वारदात पूर्व केही समयअघि जयन्ती चौधरीको नाता पर्ने निज पुरूष व्यक्तिले उक्त वारदात घटाउन प्रयास गरेको तर सफल नभएको खुलेको छ।

फागुन १४ गते जयन्ती चौधरी र निजको नाता पर्ने पुरूष व्यक्तिबीच टेलिफोन सम्पर्क भई अर्को दिन बिहान जसरी पनि रानालाई मार्नुपर्छ भन्ने योजना बनाएका थिए।

जयन्तीको योजना तथा निर्देशन बमोजिम फागुन १५ गते सो घटना घटाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न अन्य फरार आरोपीहरूको खोजी कार्य जारी रहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।