जनकपुर सहित आज देशभर महाशिवरात्रि  पूजा आरधना गरिँदै - Hamro Janakpur

शम्भु पण्डित /जनकपुरधाम । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको शिवचौक स्थित शिवमन्दिरलगाईत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाइँदैछ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व बिहीबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ ।

विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

“ब्रह्मा, विष्णु र शिवका नाममा सृष्टि, पालन र संहार गर्न फरक नाम भए पनि तीनै तत्व एकै हुन्, शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रुपमा शिव तत्वको महत्व बढी उल्लेख गरिएको छ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।

शिवका रुद्र, भैरव, महादेव, महेश्वर, शंकरलगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । महाशिवरात्रिका दिन द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने पशुपतिनाथमा दर्शनार्थीको भीड लाग्ने गर्छ । यसदिन विश्वभरका हिन्दू धर्मावलम्बी पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।

यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।