धनुषा: बचतकर्ताको रकम घोटाला गरेपछि पिडितले अध्यक्षलाई शौचालयमा थुने - हाम्रो जनकपुर
श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। संचालक समितिका कार्यबाहक अध्यक्ष मनोज सिंहलाई बचतकर्ताहरुले शौचालयमा थुने!

जनकपुरधाम । धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले बचतकर्ताहरुले जम्मा गरेको रकम घोटाला गरेपछि पीडित बचतकर्ताहरुले अध्यक्षलाई शौचालयमा थुनेको छ । श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। संचालक समितिका कार्यबाहक अध्यक्ष मनोज सिंहलाई बचतकर्ताहरुले शौचालयमा थुनेको छ । संस्थाका अध्यक्ष मनोज सिंहले आफुहरुलाई पटक पटक रकम फिर्ता दिने भन्दै आएको तर बचत रकम फिर्ता नदिएको भन्दै आफुहरुले बाध्य भएर शौचालयमा थुनेको पीडित बचतकार्ताहरुले बताएका छन् ।

आइतबार संस्थाको बैठक छ भनेर आफुहरुलाई बोलाएको तर संस्थाका संचालक समितिका पदाधिकारीहरु नआएपछि आक्रोशित बनेको पीडित बचतकर्ता सेवाग्राहीहरुले कार्यबाहक अध्यक्ष सिंहलाई महेन्द्रनगर हनुमान चोकबाट समातेर नयाँ बजारस्थित रहेको सार्वजनिक शौचालयमा करिव आधा घण्टा थुनेको थियो । यता यस विषयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले खबर पाएपछि अध्यक्ष सिंहलाई शौचालयबाट बाहिर निकालेका थिए ।

अध्यक्ष सिंहका अनुसार संस्काले हाल बचतकर्ताहरुको करिव पौने २ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था रहेको छ । तर संचालक समितिका अरु पदाधिकारीहरु गायव भएपछि आफु बचतकर्ताहरुको दवाव झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताएका छन् । संस्थाका संचालक समितिका पदाधिकारीहरु संस्थाको पैसाले आफ्नो निजी कारोबार गरेको, घरघडेरी किनेको, छोराछोरीलाई विदेश पढ्न पठाएको र संस्थालाई डुबाएर सबैको पैसा कुम्ल्याएको बचतकर्ताहरुको आरोप छ ।
श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि।महेन्द्रनगरका संचालक समितिले संस्थाका बचतकर्ताहरुको रकम हिनामिना र गोलमाल गर्दै कुम्ल्याउने दाउमा रहेको संस्थाका बचतकर्ता सेवाग्राहीहरुले आरोप लगाएका छन् ।

बचतकर्ता सेवाग्राहीहरुका अनुसार करिव एक वर्षदेखि संस्थाको कार्यालय बन्द रहेको भएपनि सस्ंथाको पछाडीको गेट खोलेर बीच बीचमा संचालक समितिले बैठक तथा कार्यलय संचालन गर्दै आएको खबर पाएपछि यघअघि तीन जना कर्मचारी पनि भित्र थुनेर गेटमा ताल्चा लगाएका थियो ।
संस्थाका बचतकर्ता सेवाग्राहीहरुले बचत रकम फिर्ता गर्न माग गरेका छन् । सो संस्थामा वर्षौदेखि मेहनतले कमाएको पैसा दैनिक बचत जम्मा गरेको भएपनि संस्था बन्द गरी संचालक समितिले पैसा घोटाला गरेको बचतकर्ता दिनेश साहले बताएका छन् ।

संस्थाबाट आफुले ५ लाख रुपैयाँ बचत फिर्ता लिनुपर्ने साले बताएका छन् । सो संस्थाले हजारौं सेवाग्राहीको बचत रकम गोलमाल गरेको पीडित बचतकर्ता महिला सीता साह बताएकी छिन् ।
महेन्द्रनगरमा एक समयमा निकै चर्चित रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरु सयौं सेवाग्राहीको बचत रकम गोलमाल गरेर फरार भएको बचतकर्ताको दावी छ ।

यस अघि पनि संस्थाका संस्थापक अध्यक्ष नम्रता खातीलाई समेत कार्यालयमै तालाबन्दी गरेर थुनेका थिए । त्यतिबेला एक महिनामा बचतकर्ताहरुको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खातीलाई कार्यालयको ताल्चा खोलेर मुक्त गरेपनि महिनौ बित्दा समेत रकम फिर्ता नभएपछि पुनः पीडित बचतकर्ताहरुले आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय