महोत्तरी:सीतामढीमा भेटिएका ७ बालिका/युवतीलाई परिवारको जिम्मा - Hamro Janakpur

जनकपुरधाम । भारतको सीतामढीमा भेटिएका महोत्तरी भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका÷युवतीलाई परिवारको जिम्मा लगाइएको छ ।

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो ।
प्रक्रिया पुर्याएर उनीहरुलाई नेपाल प्रहरीलाई भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाएको हो ।

महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको भंगहा नगरपालिका प्रमुख संजिव साहले बताए ।

यधपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा सहयोग गर्न भंगहाका मेयर साहको रोहबरमा उनीहरुलाई तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएका छन् । भोली थप सोधपुछ र अनुसन्धान पश्चात् बालिका/युवतीहरु घर फर्किने मेयर साहले बताए ।

भँगाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

सीतामढी प्रहरीले उद्धार गरेपछि बालिका÷युवतीहरुले आफुहरु गायिका बन्न हिडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लग्नमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ ।

मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए । उनीहरुको खोजतलासमा नगरप्रमरुख संजिव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।

नगरप्रमुख साहले घटनामा चेलीबेटी बेचबिखन गर्ने ठूलो गिरोहको सक्रियता रहेको शंका रहेकाले आफ्नो तवरबाट पनि घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको लागि कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।