वडाध्यक्ष आलमद्वारा हिन्दू धर्ममाथि प्रहार, होली पर्व मनाउन रोक स्थानीयको आरोप - हाम्रो जनकपुर

हरिशंकर शर्मा/वीरगन्ज (पर्सा) । पर्साको पर्सागढी नगरपालिका–५ का वडाध्यक्ष अस्लम आलमले हिन्दू धर्ममाथि नै प्रहार गरेको आरोप लागेको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको बहुअर्वा टोलमा रहेका हिन्दू समुदायले वडाध्यक्षको कारण होली पर्व मनाउन नसकेको स्थानीय नितेश मिश्राले आरोप लगाए ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्राले मुस्लिम समुदायका वडाध्यक्षको निर्देशनमा हिन्दू समुदायमाथि पटक–पटक धार्मिक विभेद हुँदै आएको बताए ।

विगत दुई दशकदेखि नै हिन्दूहरुको महान पर्व होली धुमधामका साथ मनाउँदै आएकोमा मुस्लिम समुदायका व्यक्ति आलम निर्वाचित भएसँगै दुई वर्षदेखि होली पर्वको बेला विभिन्न खाले विवाद हुँदै जातीय दंगा भड्काउने काम हुँदै आएको बताए ।

नेपाल धर्मनिरपेक्षता राष्ट्र भएपनि टोलमा हिन्दू धर्मावलम्बीहरुले मनाउने हरेक चावाडमा मुस्लिम समुदायले हस्तक्षेप गर्ने गरेको उनको भनाइ छ । विगत तीन वर्षदेखि हिन्दू समुदायमाथि धार्मिक हस्तक्षेप, विवाहमा बाजागाजा बजाउन नदिने, वडा मठ मन्दिरमा शौच गर्ने, चाँड पर्वको बेला राँगा भैसीको बद्य गर्ने जस्ता कार्यहरु हुँदै आएको अर्का स्थानीय सुनिल रायभारले बताए ।

वडाअध्यक्ष आलमले होली पर्वको गीत गाउने समयमा गाउँको बीचमा रहेको मस्जिद नजिकैको बाटोमा प्रहरी खटाएर होली मनाउन पनि अवरोध गरेर धर्म तथा साँस्कृति माथि प्रहार गरेको उनीहरुको आरोप छ ।

करिब डेढ किलोमिटर बहुअर्वामा दुवैतिर हिन्दू समुदाय र बीचमा बहुसंख्यक मुस्लिमहरुको बसोबास रहेको उक्त वडामा एक टोलबाट अर्काे टोलमा होली खेल्न जाने क्रममा वडाअध्यक्ष आलमले आवतजावतमा रोक लगाएर आपसी सद्भाव र एकताको पर्वलाई प्रभावित बनाएको बताए ।

गत वर्ष पनि होलीकै दिन हिन्दू मुस्लिम समुदायमा विवाद भई ढुंगामुढा प्रहार हुँदा ७ जना हिन्दू समुदायका व्यक्ति घाइते भएका थिए । त्यस बेला पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायत पर्सा क्षेत्र न. १ का साँसद प्रदीप यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव लगायतको उपस्थितिमा भएको ५ बुँदे सहमति पनि कार्यन्वयन नभएको उनीहरुको भनाइ छ ।

त्यस बखत कुनै पनि पर्वमा हस्तक्षेप नगर्ने, विवाहको बाजागाजामा अवरोध नगर्ने, धार्मिक स्थल तथा ब्रहमस्थानमा तोडफोड नगर्ने, हिन्दू समाजको गौतर पर्ति जग्गाको नाप नक्सा गरी छुट्याउने लगायतका सहमति भएपनि कार्यन्वयन नभएको उनीहरुको भनाइ छ ।

यसबारे पर्सागढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अस्लम आलमले होली पर्वको दिन कुनै किसिमको घटना नभएको भन्दै यो सबै राजनीतिक षडयन्त्र भएको बताएका छन् । होलीको दिन त्यस्तो कुनै किसिमको विवाद भएको छैन, आफै पनि सम्पूर्ण टोलमा घुमेर मुस्लिम समुदाय भएपनि होली पर्व मनाएको बताए ।

वडामा मुस्लिम समुदायको बाहुल्यता रहेको भन्ने कुरामा कुनै सत्यता नरहेको भन्दै आफ्नो वडाको चारवटा टोलमध्ये तीन वटा टोलमा हिन्दू समुदाय र एउटा टोलमा मात्रै मुस्लिम समुदायको बसोबास रहेको कारण आफूले हिन्दू समुदायमाथि दमन गर्न नसक्ने बताउँदै आफ्नो वडामा ८० प्रतिशत हिन्दू र २० प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको बताए ।

आफूले पनि हिन्दू समुदायकै वडाबासीहरुको सहयोगमा जनप्रतिनिधि निर्वाचित भएको कारण आफ्नो ठाउँमा जातीय दंगा भड्काउने खालको उत्श्रृङ्खल कार्य गर्नै नसक्ने भन्दै वडाध्यक्ष आलमले व्यक्तिगत रिसिबीको कारण केही सीमित व्यक्तिहरुको समूहले राजनीतिक षडयन्त्र गरेर आफूलाई बद्नाम गर्न खोजेको बताए ।

मन्दिरमा शौच गर्ने, हिन्दूहरुको चाड पर्वको बेला राँगा भैसीलाई बद्य गर्ने, शादी विवाह जस्तो कार्यमा अवरोध गर्ने भन्ने लगाएको आरोपहरु निराधार रहेको भन्दै जो कोहीले पनि यहाँका हिन्दू समुदायका व्यक्तिहरुसँग पनि स्थलगत भेटघाट गरेर यहाँको अवस्थाबारे बुझ्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय