सिरहा । प्रदेश नम्बर २ सिरहाको लहान नगरपालिका वडा नम्बर २ स्थित मिलन चोकमा डकैती भएको छ । स्थानीय विन्देश्वर यादवको घरमा ७-८ जनाको समूहमा गएको डाँकाले गएराति १२-१ बजेतिर डकैती गरेका हुन् ।
डाँकाहरूले ६ लाख बराबरको नगद, गरगहना र सामान लुटेर भागेको पीडित परिवारले बताएको छ । डाँकाको समूह अचानक घरमा पसी रडले टाउको र शरीरमा प्रहार गरी घाइते बनाएर सामान लुटेर लगेको पीडित विन्देश्वरले बताए ।
‘घरको एउटा कोठामा म र मेरी श्रीमती सुतिरहेका थियौँ, अर्को कोठामा छोरी थिइन्,’ उनले भने, ‘डाँकाको समूह हाम्रो कोठामा पसेर टाउको र शरीरमा प्रहार गरे, हामी बेहोस भयौँ, उनीहरूले भेटेका सबै सामान लुटेर भागेछन् ।’ डाँकाहरूले दराजमा रहेका २ लाख ५० हजार नगद, पौने २ तोला सुन, ७० तोला चाँदी, २५ हजार बराबरको पसलका लागि किनेर ल्याएको चुरोट र दुई थान मोबाइल खोसेर पनि लगेको उनले बताए ।
डाकाहरू सुरुमा मूल गेटबाट घरभित्र प्रवेश गर्न खोजे पनि पस्न नसकेपछि घरको छत्त हुँदै माथिको ग्रीलको ताला ताडेर पसेको विन्देश्वरको भनाइ छ । डाँकाको रड प्रहारबाट विन्देश्वर र उनकी पत्नी घाइते भएका छन् । विन्देश्वरको टाउकोमा १५ वटा टाँका लागेको छ भने उनकी श्रीमतीको टाउकोमा पाँचवटा टाँका लागेको परिवारजनले जनाएको छ ।
प्रहरीले घटनालगत्तै अनुसन्धान थाले पनि डाँकाहरूको समूहलाई प्रकाउ गर्न सकेको छैन । घटनामा संलग्नहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले बताए ।