जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले माग राखे बमोजिम टीकापुर विद्रोहसहित मधेश आन्दोलनका मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ।

जसमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहितलाई छोड्ने प्रयाससमेत भइरहेको छ। यससँगै जसपा र सत्तारुढ एमालेबीच घनिष्ठता बढेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा अगाडि बढेपछि उपेन्द्र यादव गुट असन्तुष्ट रहँदै आएको छ।

जसपा र नेकपा (एमाले)बीच सहकार्य गर्ने प्रक्रिया अगाडि बढ्न थालेपछि जसपाभित्रको विवाद चर्किदै गएको छ। जसको पछिल्लो कडीमा उपेन्द्र यादव गुटले ठाकुर र महतो पक्षका मन्त्रीले राखेको चियापनसमेत बहिस्कार गरेको छ।

जसपाभित्र पूर्वराजपा पक्षका भौतिक पूर्वाधार विकास मन्त्री रहेका जितेन्द्र सोनलले नयाँ वर्ष तथा जुडशितलको अवसरमा चियापान समारोहको आयोजना गरेका थिए।

पूर्वराजपा तर्फको संसदीय दलका नेता र सरकारमा शक्तिशाली मन्त्रीका रुपमा रहेका सोनलले आयोजना गरेको चियापानमा जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरुको सहभागी थिए।

चियापानमा उपेन्द्र यादवसहित पूर्वसमाजवादी पार्टीका प्रदेश मन्त्रीहरुलाई पनि निम्तो दिइएको थियो। तर, मन्त्री सोनलले आयोजना गरेको चियापान उपेन्द्र यादवले मात्र होइन यादव गुटका मन्त्रीहरुले समेत बहिस्कार गरेका छन्।

यसैगरी उपेन्द्र गुटका प्रदेश सभा सदस्यहरु पनि चियापानमा सहभागी भएनन्।

सोनललाई असहयोग गर्न कार्यविधि नै मुख्यमन्त्रीले रोकेपछि

प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री सोनलले प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक बनाउने योजना सफल भएपछि उनले प्रदेश परिवहन सेवा पनि सुरु गर्न थालेका छन्।

जसमा प्रदेशभित्र बस सञ्चालनका लागि बस खरिदसमेत भइसकेको छ।

बस सञ्चालनका लागि विभिन्न सरोकार बालाहरुसँग छलफल गरी कार्यविधि मुख्यमन्त्री कार्यालयमा पठाइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। कार्यविधि पठाएको लामो समय हुँदासमेत निर्णय आउन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्री सोनल निकट नेताहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउतले मन्त्री सोनललाई असहयोग गर्न लामो समयदेखि कार्यविधि पारित नगरी रोकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय