हाम्रो जनकपुर,संवाददाता । धनुषा क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको ‘जनकपुरधाम टी–२० च्याम्पियनसीप’ क्रिकेटको पहिलो खेलमा परिवार क्रिकेट क्लब विजयी भएको छ । टस जितेर ब्यटिङ गरेको लखौरी क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै परिवार क्रिकेट क्लब विजयी भएको हो । लखौरीले १६ ओभर २ बलमा अलआउट हुँदै ६७ रनमा सीमित भएको थियो । लखौरीको तर्फबाट अभिनन्दन ठाकर २० बलमा १७ रन र रघुनाथ मण्डलले १३ बलमा १० रन बनाएका थिए । परिवार त्रिकेटका राहुल शर्माले ४ र सुनिल यादव ३ विकेट लिन सफल भए ।

६८ रनको लक्ष्यसहित मैदानमा आएको परिवार क्रिकेट क्लबले ११ ओभर २ बलमै लक्ष्य पूरा गरेको थियो । परिवारले ११ ओभरमा २ बल खेल्दै २ विकेट गुमाएर ७३ रन बनाएको थियो। परिवारको तर्फबाट राहुल शर्माले २९ बलमा ३२ रन बनाए भने विभाष यादवले ३५ बलमा १६ रन बनाए । लखौरीका सुरेश मण्डल र उमेश मण्डलले १/१ विकेट लिन सफल भए ।

पहिलो दिनको खेलमा परिवार क्रिकेट क्लबका राहुल शर्मा प्लेयर अफ दी म्याच चुनिए । ‘जनकपुरधाम टी–२० च्याम्पियनसीप’ टुर्नामेन्टमा १६ टिम सहभागी छन् । सहभागी १६ मध्ये ११ वटा टिम नेपालको र ५ वटा टिम भारतका रहेको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेयले बताए ।

नक आउट लिगको आधारमा भइरहेको प्रतियोगिता वैशाख ४ गतेसम्म चल्ने छ । ‘जनकपुरधाम टी–२० च्याम्पियनसीप’को विजेतालाई ५१ हजार र उप विजेतालाई २५ हजार राशिको नगद पुरस्कार प्रदान गरिने छ । क्रिकेट खेलको सम्बर्द्धन एवं प्रबर्द्धनको उद्देश्यले धनुषा क्रिकेट संघले क्लबस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको पाण्डेयले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय