अभिजित दास, महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एक परिवार उपर वडाध्यक्षले सामुहिक कुटपिट गरेको आरोप लगाइएको छ । सो घटनामा एकै परिवारको ७ जना घाईते भएका छन् ।

महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर २ मधेपुरास्थित विहिबार राती वडा नम्बर २ का वडाध्यक्ष राम मिलन यादवसहित उनका मान्छेहरुले एक परिवारमाथि निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको आरोप लगाएका छन् ।

स्थानीय हरिकिशोर दासको परिवारमाथि वडाध्यक्ष यादवको टोलीले निर्घात कुटपिट गरेको बताइएको छ । गएराती वडाध्यक्ष यादवको जेठो दाईको बिहेको लागि मटकोरमा चर्को साउण्डमा डिजे बजाउँदा विवाद सुरु भएको थियो ।

वडाध्यक्ष यादवले दास टोलमा गएर उनीहरुको दरबाजा (दुरा) मा चर्को साउण्डमा डिजे बजाउन थालेपछि उनीहरुले बच्चाहरु सुतिरहेको भन्दै यहाँबाट अगाडी सार्दै लैजान अनुरोध गरेका थिए । तर, वडाध्यक्ष यादवले दासकै दरबाजामा करिब १५ मिनेटसम्म जबदरस्ती रोकेर एउटै गीत पटक पटक बजाउन थालेपछि उनीहरुले विरोध जनाएका थिए । डिजेमा अश्लिल गीतसँगै दुःख दिने गरी दरबाजामै रोकेर पटाखा समेत फुटाउन थालेपछि दास परिवारले विरोध जनाउँदै अगाडी लैजान अनुरोध गरेका थिए । प्रहरीको अनुसार, वडाध्यक्ष पक्षबाट पनि घाईते भएका छन् ।

वडाध्यक्ष यादव र उनका टोलीका मान्छेहरुले अनुरोध नमान्दै उल्टै कुटपिट गरेको आरोप लगाएका छन् । सो घटनामा ७ जना घाईते भएका छन् । जसमा एक जनाको अवस्था गम्भिर रहेको छ ।

घटनामा वडाध्यक्ष यादवसहित उनका टिमले स्थानीय राम चन्द्र दास, राम एकवाल दास, कौसल दास, बिजय दास, सन्जय दास, हरि दास र लिलाधर दास गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, दास परिवारबाट ७ जना घाईते छन् भने वडाध्यक्ष तर्फबाट पनि केही जना घाईते रहेको बताउँदै ठाडो निवेदन मात्र परेको बताए । यसको विषयमा अनुसन्धान जारी रहेको बताए ।

घाईतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने गम्भिर घाईते भनिएका एक जनाको उपचार न्यूरो हस्पिटल जनकपुरमै भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय