सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिने भएको छ । आइतबार यस सम्बन्धमा दुई सुरक्षा निकायबीच सम्झौता हुँदै छ । गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्रलाई हतियार दिन लागेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

द्वन्द्वका वेला सेनाले भारतबाट खरिद गरी ल्याएका पुराना हतियार सशस्त्रलाई दिन लागिएको हो । इन्सास राइफल कमसल हतियार भएको भन्दै हाल विस्थापनको प्रक्रियामा छ । कार्गिल युद्धको समयमा सो हतियारका कारण भारतीय सैनिक अधिकारीले समस्या भोगेका थिए ।

सशस्त्र द्वन्द्वका वेलामा पनि सेनाले सशस्त्रलाई इन्सास राइफल बिक्री गरेको थियो । गत साउनमा पनि सशस्त्रलाई सेनाले ६ सय थान इन्सास राइफल दिएको थियो, जुन शान्ति मिसनमा प्रयोग गरिएको थियो । तुलनात्मक रूपमा ठूलो हतियारमध्ये इन्सास राइफल कम घातक मानिन्छ । सशस्त्रलाई यस्तो प्रकृतिको हतियार प्रभावकारी हुने भए पनि केही राउन्ड फायर भएपछि समस्या आउने भएकाले कतिपय अवस्थामा समस्या हुन सक्ने एक सशस्त्र प्रहरी अधिकारीले बताए ।

गत असारमा सेनाले पुराना हतियार नेपाल प्रहरीलाई पनि दिएको थियो । पुराना हतियार नेपाल प्रहरी र सशस्त्रलाई दिएर सेनाले नयाँ खरिद गर्दै आएको छ । विवाद र चलखेलका कारण नेपाल प्रहरी र सशस्त्रले भने अत्यावश्यक हतियारसमेत खरिद गर्न सकेका छैनन् । सेनाले भने हालै अमेरिकाबाट १० हजार थान एम १६ हतियार खरिद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय