काठमाडौँ । जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ ।

 

सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।

 

ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए । सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ ।

 

उक्त भिडियो के कसो भएको हो भन्ने रातोपाटीको प्रश्नमा पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे ।

 

पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’

 

यस सम्बन्धमा कहीँ कतै उजुरी गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा पूर्वमन्त्री खानले भने, ‘म यतिबेला नेपालगञ्जमा छु । यस विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको छु । केही व्यक्तिहरूलाई पक्राउ पनि गरिसकिएको छ ।’

 

पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे । उनले भने, ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । त्यस विषयमा सायद भारतमा पनि अनुसन्धान भइरहेको होला ।’

 

भारतीय र पाकिस्तानी गिरोहले सेक्स ट्रयापमा पारी ठगी र ब्ल्याकमेल गर्ने गरेको बारे २०७८ माघ १७ गते नै रातोपाटीले समाचार तयार पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय