दिवेश कुमार महतो

असार २० गते,ढल्केबर ।

धनुषाको मिथिला नगरपालिका मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।

जनकपुर आयुर्वेद औषधालय धनुषाको प्रमुख सिमा झाको अध्यक्षतामा सोमबार धनुषाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज स्थित रहेको एभरेष्ट युवा क्लबको भवनमा नगरपालिका लेभलकै नागरिक आरोग्य सेवा केन्द्रको समुदघाटन भएको छ। जनकपुर आयुर्वेद औषधालयका प्रमुख झा का अनुसार यस नागरिक आरोग्य सेवा केन्द्र मिथिला नगरपालिका नक्टाझिज मा नेपाल सरकारको तर्फबाट औषधि नि-शुल्क रुप‌मा पाइने र कार्यालय बिहान १०:३० बजे देखि ३:३० बजेसम्म खुल्ने बताए। उनका अनुसार यहाँ कार्यालय मा विभिन्न रोगहरुको निदानका लागि २३ प्रकारको आयुर्वेदिक औषधि पाउने र यसका लागि स्थानीय सरकारले समय समयमा शिविर सञ्चालन गरेर सहयोग गरिदिन अनुरोध गरिन्।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको मिथिला नगरपालिका को मेयर महेन्द्र महतोका अनुसार आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अब नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।आयुर्वेदिक औषधी सेवन गर्ने विरामीहरुलाई स्वास्थ्य जाँच र उपचार गराउन अब जनकपुर जानुपर्ने अवस्थाको अन्त्य भएको र यहिबाट सेवा लिन नगरबासीलाई उहाँले आग्रह गर्नुभयो । हाल सानो कोठामा सुरु भएको नागरिक आरोग्य सेवा केन्द्रलाई भविष्यमा जनचाहना अनुसार विस्तार गर्ने प्रमुख महतोले प्रतिबद्धता समेत जनाउनुभयो । अंग्रेजी औषधीको विस्तार नभएको बेला आयुर्वेदिक औषधीले नै उपचार हुँदै आएको भएपनि पछिल्लो समय रोग छिटो छिटो निको पार्न अंग्रेजी औषधीको प्रभाव बढ्दै गएको हुन सक्ने उहाँको भनाई थियो । तर शरीरमा कुनै पनि साइड इफेक्ट नगर्ने आयुर्वेदिक औषधी नै प्रयोग गर्दा रोग पनि निको हुने र शरीरलाई कुनै असर पनि नहुने यर्थातलाई जागरुकताको मार्फत बैद्यहरु जनमानसमा सन्देश दिनुपर्ने प्रमुख महतोको जोड थियो ।

यता सोहि कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिका की उप प्रमुख सुनिता सिंह बुढाथोकीले अबको विद्यालय शिक्षामा नै आयुर्वेद र योगाभ्यासलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । नागरिकलाई आरोग्य बनाउन योगाको शिक्षक तयार गरेर विद्यालयहरुमा अभियानको रुपमा योगअभ्यास र आयुर्वेद शिक्षा विस्तार गर्नुपर्ने रणनीतिका साथ आफुहरु अघि बढिरहेको उहाँ भनाई थियो ।

उक्त कार्यक्रममा अतिथिको रुपमा मिथिला नगरपालिका वार्ड नं-२ का वार्ड अध्यक्ष बिहारी महतो, वाडा सदस्यहरु, मिथिला नगरपालिका स्वास्थ्य शाखाको प्रमुख अशोक भण्डारी, जनकपुर आयुर्वेद औषधालयका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका राजनितिकक्रमिहरु , एभरेष्ट युवा क्लब नक्टाझिजका अध्यक्ष श्याम महतो , प्रतिनिधि रामविलास महतो, रामकुमार महतो, औषधालय का बैध, समाजसेवी एवम् राजनितिकर्मी रामनाथ महतो,मनोज सिंह,बच्चेलाल महतो लगायत गाँउलेहरुको उपस्थिति रहेको कुरा नागरिक आरोग्य सेवा केन्द्र मिथिला नगरपालिकाको शाखा प्रमुख प्रेम महतोले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय