जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा रामवरण यादवकाे हातबाट भएको छ ।
जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सव आजबाट शुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। प्रदेश २ को विकास चुरेसँग जोडिएकोले यसको संरक्षण हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ, चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन,’ पूर्व राष्ट्रपति यादवले भने।

चुरेसँग मधेसको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको समेत उनले बताए।

पूर्व राष्ट्रपति यादवले भने, ‘प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको छ। यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर छ। कारण यस प्रदेश भएर बग्ने नदी र खहरेको मूल चुरे हो। चुरे संरक्षणमार्फत यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडि आउनु आवश्यक रहेको छ।’

मधेसलाई मरुभूमीकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपद्बाट जोगाउन समेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

प्रदेश समृद्ध नभए देश समृद्ध हुन सक्दैन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेश समृद्ध नभए देश समृद्ध हुन नसक्ने बताएका छन्। यस क्षेत्रको विकास भएमात्र नेपालको विकास हुने भएकोले शासक वर्गले यसतर्फ ध्यान दिनु पर्ने उनले बताए।

शासकहरु मधेशलाई दोस्रो नजरियाले हेर्ने गरेको भन्दै मुख्यमन्त्री राउतले भने, ‘यहाँ बसोबास गर्ने ६० लाख जनता समृद्ध भएन, किसान, श्रमजीवीको जीवनमा समृद्धि आएन भने नेपाल समृद्ध हुन सक्दैन।’

मुख्यमन्त्री राउतले जनकपुरधामको प्रचारप्रसार गर्नमा पनि संघीय सरकार उदासिन रहेको आरोप लगाए।

‘हामीसँग माता जानकी छिन्, गौतम बुद्ध छन्, सगरमाथा छन्, पशुपतिनाथ छन्, त्यसको महत्व र गरिमालाई बेच्न सक्छौँ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छौँ। यहाँको वनजंगल, पहाड राम्रो छ’, मुख्यमन्त्री राउतले भने, ‘तर, दुर्भाग्य, समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने कहाँ छन्।’

मुख्यमन्त्री राउतले सीताको जन्मभूमि जनकपुरधामको प्रचारप्रसारमा संघ सरकारले बेइमानी गरेको आरोप लगाए। उनले अरुमाथि औँला उठाउनुभन्दा आफै गर्नुपर्ने भएकोले प्रदेशको विकासको काम जानकी मन्दिर सौन्दर्यकरणबाट शुरु गरेको बताए।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनकपुरधामलाई विभेद गरेको कुरा अन्तर प्रदेश बैठकको क्रममा कुरा राखेको बताउँदै विवाहपञ्चमी महोत्सवको लागि बजेट छुट्याइदिन पटकपटक आग्रह गर्दै आएको बताए। उनले प्रदेश सरकार विवाहपञ्चमीलाई ५० लाख रुपैयाँ दिँदै आएको कुरा समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय