जनकपुरधाम। पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउमै रहेको यो कार्यालयमा २० वटा कोठा भएको चिटिक्क परेको दुई तल्ले भवन सरकारले भाडामा लिएको छ । धनुषाको ढल्केवरमा यस्तो एक सरकारी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन ।

१० बजे नै कार्यालय उपस्थित भएका कर्मचारी हाजिरी रजिष्टरमा सहिछाप गरेर दिन बिताउँछन्। सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापनाकाल देखिनै सुनसान छ, धनुषाको ढल्केवरस्थित नापी कार्यालय ।

अन्य कार्यालयझैं प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय पुगिसकेका हुन्छन्। तर उनीहरुको काम अन्य कार्यालयका कर्मचारीभन्दा फरक छ ।

नापी कार्यालय जनकपुरले आवश्यक कागजात तथा सामाग्री बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केवरका १५ कर्मचारी विगत चार बर्षदेखि कामविहिन छन् ।

२०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिएको हो। तर, स्थापनाको ४ बर्ष बितिसक्दा पनि कामकाज सुरु हुनसकेको छैन ।

नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको बार्षिक लाखौं रकमको सदुपयोग हुन नसकेको नापी कार्यालय ढल्केवरका प्रमुख अधिकृत राजेन्द्र साहले बताए। उनले बिएल नेपाली सेवासँग भने, ‘कार्यालय सञ्चालनमा नआउँदा १५ कर्मचारी हाजिरी गरेर दिन बिताउन बाध्य छन् ।

सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय जनकपुरलाई पटक–पटक ताकेता गर्दा पनि सुनवाइ नभएको कार्यालय प्रमुख साहको भनाई छ।

‘कागजातको लागि जनकपुर कार्यालयलाई हामीले पटक–पटक ताकेता गर्यौं’, नापी अधिकृत साहले भने, ‘तर त्यसको कुनै जवाफ आएन। कुनै सुनवाई भएन । सुन्ने वाला कोही भएनन्।अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय जनकपुरले आनाकानी गरिरहेको छ ।

साविकको २१ वटा गाविस अर्थात हाल ५ वटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यसाथ यस कार्यालयको स्थापना भएको थियो। तर, यस क्षेत्रका सेवाग्रहीले सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका स्थानीय निरास छन्।

कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्भेक्षक ५ जना, अमिन १ जना, सह–लेखापाल १ जना, कम्प्यूटर अपरेटर १ जना, कार्यालय सहयोगी ५ जना, स्वीपर १ जना गरी कूल १५ कर्मचारी कार्यरत छन्। सबै कर्मचारीको तलबमा प्रतिमहिना ३ लाख २५ हजार ४ सय रुपैयाँ खर्च हुने गरेको कर्मचारी श्रोतले बतायो। यसरी बर्षमा कर्मचारीको तलबबाट मात्र ३९ लाख ४ हजार ८ सय रुपैयाँ खर्च भइरहेको देखिन्छ। कार्यालयको भाडा बापत मात्र प्रतिमहिना ३८ हजार ५ सय रुपैयाँ खर्च हुन्छ। घरभाडामै बर्षमा ४ लाख ६२ हजार रुपैयाँ खर्च भइरहेको छ ।

तर नापी कार्यालय जनकपुरको लापरवाहीका कारण सरकारी स्रोतसाधनको दुरुपयोग भएको बहुउद्देश्यीय सहकारी संघ प्रदेश–२ का अध्यक्ष रामकुमार महतो बताउँछन्। ‘सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा गर्नुको कुनै तुक छैन’, उनले भने।
सरकारले गरेको निर्णय यथाशीघ्र कार्यान्वयनमा नल्याए आफूहरु कडा रुपमा प्रस्तुत हुने मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह (सन्तोष) बताउँछन्। ‘नागरिकलाई सहज रुपमा सेवा दिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन। यथास्थितिमै सञ्चालमा ल्याउनुपर्छ’, उनले भने ।

मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नापी कार्यालयको कागजातको लागि कयौं पटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताए। ‘मैले ढल्केवर कार्यालयलाई अभिलेख उपलब्ध गराईदिन विभागका ‘डिजी’देखि सम्बन्धित मन्त्रायलका मन्त्रीसम्मलाई आग्रह गरे। तर काम अहिलेसम्म भएको छैन।’

मालपोत स्थापना नभए नापी कार्यालय फिर्ता जान्छ भन्ने प्रश्नमा मेयर महतोले भने, ‘स्थापना गर्ने निर्णय संघीय सरकारको हो, सरकारले निर्णय गरे मात्र कार्यालय फिर्ता जान्छ।’ नापी र मालपोत दुवैको लागि अझै पहल भइरहेको उनले बताए ।

नापी कार्यालय जनकपुरका प्रमुख सुमन मिश्राले भने ढल्केवरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालको कामकाज सुरु हुन नसकेको प्रतिक्रिया दिए। मालपोत बिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीको लागि झन्झटिलो हुने उनको जिकिर छ। ‘नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहज रुपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ’, प्रमुख मिश्राले भने, ‘समस्या झेल्न नागरिक तयार भए मेरो कुनै आपत्ति छैन ।

ढल्केवर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहहरुको समन्वयमा अभिलेख तथा कागजात लान सकिने उनले बताए ।

ढल्केवर कार्यालयको कागजातहरु तयारी अवस्थामा राख्न कर्मचारीलाई निर्देशन दिइएको पनि प्रमुख मिश्राले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय