जनकपुरधाम । धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला यहि आइतवार समाप्त भएको छ।

ऐतिहासिक, धार्मिक एवम् पौराणिक महत्व बोकेको धनुषाधाममा आउने श्रद्धालु भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिएको छ। मेला भर्न स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनको उल्लेख्य सङ्ख्या रहेको थियो।

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको सीता स्वयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती रहेको छ।

विष्णु पुराणका अनुसार दधिचि मुनिको हाडबाट बनेको धनुष त्रिपुरासुर सङ्ग्राम भएपछि त्यही पिनाक धनुष शङ्कर भगवान्ले परशुरामलाई दिएका थिए। परशुरामले उक्त धनुष जनक महाराजलाई दिएका थिए। भगवान् रामले धनुषमा वान चलाउँदा धनुषको तीन टुक्रा भएको थियो।

धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपश्चात् माघ महिनामा मकर मेला लाग्ने गरेको छ। श्रद्धालु भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् ।

जनकपुरदेखि १९ किलोमिटर उत्तर–पूर्वमा रहेको धनुषाधाममा स्थिति सो धनुषको पूजाअर्चना गर्न बर्षेनि लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। भक्तजनद्वारा पूजाअर्चनाका क्रममा धनुषको सो टुक्रामा पुष्पजल अर्पण गर्नाले बर्षेनि धनुषको आकार बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय