जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले कानुनी, प्रशासनिक र प्राविधिक सबै प्रक्रिया पूरा गरेर एक महिनाभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी गरेको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले कानुनी तथा प्राविधिक समस्या सल्टाउँदै आगामी एक महिनाभित्रै जयनगर–जनकपुर रेल सञ्चालनमा ल्याउने दाबी गरेका छन् ।

‘मेरो नियुक्ति हुँदा कम्पनीमा न कर्मचारी थिए न कानुन नै थियो,’ उनले भने, ‘अध्यादेशबाट रेल सञ्चालन सम्बन्धी कानुन १–२ दिनभित्रै आउनेछ । सामान्य प्रशासन मन्त्रालयले रेल्बे कम्पनीमा खटिने ४५ कर्मचारीलाई पत्र दिइसकेको छ । त्यसैले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउनेछौं  ।’

रेल सञ्चालनको लागि भारतबाट २६ जना कर्मचारी ल्याउन लागिएको छ । ती कर्मचारी जिटुजी माध्यमबाट ल्याउन लागिएको उनले बताए ।

‘हामीले एक वर्ष रेल सञ्चालनको लागि आवश्यक पर्ने २६ जना प्राविधिक ल्याउन लागेका हौं,’ उनले भने, ‘रेल सञ्चालनको लागि प्राविधिक र अन्य प्रविधिक उपकरणको लागि २२ करोड भारु लाग्ने अनुमान गरेका छौं  ।’ कम्पनीले भारतीय प्राविधिकको लागि मात्रै चार करोड भारु खर्च लाग्ने जनाएको छ ।

नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो । तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ ।

महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् ।

गत असोज २ गते दुई सेट रेल नेपाल ल्याइएको थियो । सरकारले भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेडबाट ८४ लाख ६५ लाख रूपैयाँ खर्चेर दुई सेट रेल खरिद गरेको हो ।

यो रेल १३ सय यात्रु बोक्ने क्षमताको छ । तर एकैपटक यात्रु चढ्दा भने सात सयजना मात्रै चढ्न मिल्छ । रेलमा अपांग तथा जेष्ठ नागरिकको लागि सीमित सिट भए पनि अन्य यात्रुले उभिएरै यात्रा गर्नुपर्ने हुन्छ ।

रेल्वे कम्पनीले भारतबाट रेलका प्राविधिक छिट्टै नेपाल आउने दाबी गरेको छ । ‘मन्त्रालयले काजमा पठाएका कर्मचारीलाई भारबाट आएका प्रविधिकले तालिम दिने कार्यक्रम छ,’ महाप्रबन्धक भट्टराईले भने ।

पहिलो चरणमा जनकपुर–जयनगर रेल्वेको दुरी ३५ किलोमिटर छ । जहाँ आठवटा सबस्टेसन छन् । सबस्टेसनबाट रेलमा चढ्न र झर्न सकिनेछ ।रेलका सबस्टेसन, जनकपुर, इनरुवा, कुर्था, बैरेही लगायत आठ स्थानमा छन् ।

यो रेल प्रतिघन्टा एक सय किलोमिटरको गतिमा गुड्ने भए पनि अति नै छोटो दुरीका सबस्टेसन भएकाले पूरै स्पिडमा गुडाउन मिल्दैन । रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्ने जनाएको छ । यो रेल ब्रोडग्रेज लिकमा चल्नेछ ।

कम्पनीले यो रेल्वे सञ्चालनको लागि वार्षिक २२ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । तर यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

अस्थायी कर्मचारी नियुक्तिमा लोकसेवा आयोग बाधक

नेपाल रेल्वे कम्पनीले रेल सञ्चालन र व्यवस्थापनको लागि आवश्यक पर्ने १२९ कर्मचारीको दरखास्त आह्वान गरेको थियो । तर लोकसेवा आयोगले अत्यधिक मात्रामा करारमा कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएसँगै अस्थायी कर्मचारी नियुक्ति प्रक्रिया स्थगित भएको छ ।

महाप्रबन्धक भट्टराईले अस्थायी कर्मचारी नियुक्ति गर्ने प्रक्रिया स्थगित गरिएको बताए । ‘हामीले १२९ अस्थायी कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएका थियौं, लोकसेवा सेवा आयोगले स्थगित गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘आवेदन दिनेको रकम कसरी फिर्ता गर्ने भन्नेमा छलफल भइरहेको छ ।’

महाप्रबन्धक भट्टराईले अस्थायी कर्मचारी नियुक्त नहुने भए आवेदकको आवेदन शुल्क बैकिङ सिस्टम वा भौचर हेरेर फिर्ता गर्न सकिने बताए । रेल्वे कम्पनीले पहिलो चरणमा जयनगरदेखि कुर्तासम्म ३५ किलोमिटर क्षेत्रमा रेल गुडाउन लागेको हो ।

अहिले कुर्थादेखि डिजेलपुरा महोत्तरीसम्म थप १७ किलोमिटर रेलको लिक निर्माण भइरहेको छ।जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ । हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ । नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय