मिथिलाअञ्चल क्षेत्रमा चर्को गर्मीमा ‘गुइँठा’ बनाउँदै, सुकाउने र चाङ लगाएर राख्ने व्यस्तता - Hamro Janakpur

जनकपुरधाम । पानी नपरेर कृषि काम अघि नबढेपछि चर्को गर्मीमा मिथिलानी (मैथिल गृहिणी, मिथिलाका नारी) ‘गुइँठा’ बनाउँदै इन्धनको जोहोमा लागेका छन् । खेतीपातीको काम खासै नभएपछि धनुषामा गाउँ÷नगर बस्तीमा खाना पकाउने इन्धनको जोहोमा मिथिलानीहरुको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने व्यस्तता बढेको हो ।

पानी नपरी हिउँद बितेपछि खेतबारी खनजोत र अन्य कृषि काम अघि बढ्न नसकेका बेला अहिलेको चर्को गर्मीलाई मिथिलानीले इन्धनको जोहोमा गुइँठा बनाउन प्रयोग गरेका हुन् । कृषि कार्यमा फुर्सदको बेला परेपछि यहाँका गृहिणीको खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ (गोबर पथारेर दाउरा प्रयोजनका लागि बनाइने इन्धन, ‘चिपरी’ र ‘गोरहा’ पनि भनिन्छ) बनाउने व्यस्तता बढेको हो ।

प्रायजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन् ।

जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिलेको चर्को गर्मीबीच गृहिणीको ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो ।

चर्को घाममा गुइँठा, चिपरी चाँडै सुक्ने भएको हुँदा समयको सदुपयोग भएको मिथिलानीको भनाइ छ । खेतीपातीको अन्य काम खासै नभएको बेला अहिले चर्को घामले ‘गुइँठा’ चाँडै सुक्ने भएको हुँदा यो काममा लागिएको मिथिलानी बताउँछन् ।

वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ पथार्ने गरेको गृहिणीको भनाइ छ । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।

यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ ।

यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ । अहिलेको चर्को घाम यसका लागि अनुकूल समय भएको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरकी गृहिणी शैल महतो बताउछिन् ।

‘के गर्नु पकाएर खानु परिहाल्छ’, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिएकी महतोले भनिन्, ‘अहिले काममा बाहिर निस्कनुपरेको छैन, त्यसैले घरमै बर्षभरिलाई चाहिने चिपरी र गोरहा पथार्दै छु ।’

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा पनि गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने बताउछन् । यद्यपि गुइँठाको धुँवा भान्साकोठामा रुमल्लिँदा त्यसको असरले आम ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या बढेको झा बताउछन् ।

खासगरी वनक्षेत्र टाढा भएका र घरको आर्थिक अवस्थाले खाना पकाउने ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ । मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

‘खेतबारीमा हाल्नुपर्ने प्राङ्गारिक मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ’, भने हसपुर नगरपालिका रमा र महोत्तरीकै भङ्गाहा नगरपालिका–४ रामनगरका ७० वर्षीय किसान इद्रिस मियाँ भन्छन्, ‘खेतबारी मलिलो बनाउने गोबर मल नभएपछि उत्पादन निकै घटेको छ ।’ यसले रासायनिक मलमा निर्भर हुनपर्ने अवस्था आएको मियाँको थप भनाइ छ । अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् ।

सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्जुन शाह, जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग..